एक पटक जनप्रतिनिधिमा मत दिनुहोस्। विकास, सुशासन र समृद्धिको यात्रामा हामी सँगै अगाडि बढ्नेछौं।
सुझाव र प्रतिक्रिया
स्क्यान गरी पठाउनुहोस्
प्रतिवद्धता र अपिल
विस्तृत जानकारीको लागि
नेकपा एमाले उम्मेदवार
आदरणीय बागलुङबासी बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरू,
हार्दिक नमस्कार, अभिवादन ।
नवयुवा पुस्ताको ऐतिहासिक आन्दोलनपछि देश नितान्त नयाँ र फरक राजनीतिक परिवेशमा प्रवेश गरेको छ। यही परिवेशमा आउँदो फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा, म बागलुङ जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट सूर्य ध्वजाबाहक उम्मेदवारको रूपमा तपाईंहरूको अमूल्य मत माग्न विनम्रतापूर्वक उपस्थित भएको छु।
सर्वप्रथम, देशमा सकारात्मक परिवर्तनको आकांक्षा बोकेर शान्तिपूर्ण आन्दोलनको नेतृत्व गर्ने नवयुवा पुस्ताप्रति हार्दिक सम्मान र आभार प्रकट गर्न चाहन्छु। साथै, उक्त आन्दोलनको क्रममा जीवन गुमाएका सम्पूर्ण युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सुशासन, पारदर्शिता, जवाफदेहिता र राजनीतिक हस्तक्षेपमुक्त प्रशासनिक प्रणालीको पवित्र माग बोकेको नव युवाहरूको आन्दोलनमा राज्यस्तरबाट आवश्यक संवेदनशीलता, सतर्कता र दूरदर्शिता अपनाउन सकेन । आन्दोलनमा घुसपैठ भयो । परिणामस्वरूप भाद्र २३ गते अकल्पनीय मानवीय क्षति भयो र २४ गते देश आगजनी, ध्वंस र भयावह अराजकतामा डुब्यो । सम्पूर्ण नेपाली समाज स्तब्ध र अन्यौलग्रस्त बन्यो । मुलुक केही समयका लागि राज्यविहीनताको अनुभूतिमा पुग्यो। तर, आज हामी फेरि त्यही संकटबाट उठेर देशलाई सही बाटोमा फर्काउने ऐतिहासिक अवसरका रूपमा निर्वाचनमा प्रवेश गरेका छौं । यो केवल चुनाव होइन, यो राष्ट्रिय पुनर्निर्माणको यात्रा हो।
समाज, राजनीति र नागरिक चेतना निरन्तर परिवर्तनशील छन् । हाम्रा सोच, कार्यशैली र व्यवहारहरु भन्दा नागरिकका आकांक्षा, देशका आवश्यकता र विश्व परिवेशको गति धेरै रफ्तारमा छ। विज्ञान, प्रविधि, विश्वव्यापी पहुँच र चेतनाको विस्तारसँगै हामीले पनि आफूलाई सुधार्नु, परिमार्जन गर्नु र समयअनुकूल बनाउनु आजको बाध्यता होइन, अनिवार्यता हो । यदि हामी परिवर्तन स्वीकार्न चाहँदैनौँ भने समयले हामीलाई कुर्दैन । यही यथार्थलाई आत्मसात गर्दै म निम्न प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।
नेपाल कम्युनिस्ट पार्टी एमाले लामो, संघर्षपूर्ण र गौरवशाली इतिहास बोकेको पार्टी हो। जनताको हक-अधिकार, जीवनस्तरको उन्नयन, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको पक्षमा उभिएको इतिहास सबैका सामु स्पष्ट छ । जसरी जीवनमा घुम्तीहरू आउँछन्, राजनीतिमा पनि घुम्तीहरू आउँछन्। काम गर्ने क्रममा कमजोरीहरू हुन सक्छन् । तर, कमजोरीबाट भाग्ने होइन, सुधार्ने, सिक्ने र अगाडि बढ्ने उत्तम विकल्प हो।
वृद्ध भत्ता, "आफ्नो गाउँ आफै बनाऔं अभियान, भूकम्पपछिको पुनर्निर्माणमा आत्मविश्वास जगाउने भूमिका, नाकाबन्दीको बेला राष्ट्रिय स्वाभिमानको रक्षा, राष्ट्रिय गौरवका आयोजनाहरूको सुरुवात र कार्यान्वयन, यी सबै उपलब्धिहरू बोकेको पार्टीलाई केही कमजोरीका आधारमा सम्पूर्ण रूपमा अस्वीकार गर्नु भनेको समाजलाई पुनः अर्को अतिवादतर्फ धकेल्नु हो । आजको आवश्यकता घृणा होइन, मुद्दामा आधारित राजनीति, स्वस्थ बहस, विचारको प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यास हो।
बागलुङको विकास र सुशासनका ७ खम्बाहरू
संसदमा निडरता र दृढता सहित आवाज बुलन्द र समन्वय कौशलता प्रस्तुत गर्नेछु ।
सुशासन र समृद्धि आजको बाध्यता होइन, अनिवार्यता हो भन्ने भावनाका साथ कार्य गर्नेछु ।
घृणा र निषेध होइन, मुद्दामा आधारित राजनीति र स्वस्थ प्रतिस्पर्धाको अभ्यास गरिनेछ ।
जनताले दिएको अवसरलाई केवल पदका रूपमा होइन, सेवकको रूपमा ग्रहण गर्नेछु ।
बागलुङको प्रतिनिधिको रूपमा नीति निर्माणमा प्रभावकारी र परिणाममुखी भूमिका निर्वाह गर्नेछु ।
जनप्रतिनिधिको हैसियतले प्राप्त हुने पारिश्रमिक जनताको प्रत्यक्ष हितमा प्रयोग गरिनेछ ।
लामो योगदान, निरन्तरता, निष्ठा र प्रतिवद्धतालाई मूल्यांकन गर्दै अमूल्य मत दिनुहोस् ।
वि.सं. २०५० देखि २०६० सम्म विद्यार्थी राजनीतिमा सक्रिय । स्वतन्त्र विद्यार्थी युनियन, धौलागिरी बहुमुखी क्याम्पस, बागलुङको सभापतिको रूपमा कार्य गरेको ।
४० भन्दा बढी विकसित तथा विकासोन्मुख देशहरूको भ्रमणमार्फत विकास मोडेल, युवा नीति र सामाजिक संरचनाको प्रत्यक्ष अनुभव प्राप्त ।
केन्द्रको राजनीतिक सम्भावना भन्दा आफ्नै बागलुङको माटो रोज्दै, पछिल्लो एक दशकदेखि तपाईहरूसँगै सुख-दु:खमा सहभागी छु ।
बागलुङको भविष्यका लागि साझा संकल्प...